मुम्बई, असोज ९ गते ।
सञ्जय लीला भन्सालीको प्रतीक्षित चलचित्र ‘लभ एन्ड वार’ बाट अभिनेत्री आलिया भट्टको पहिलो झलक (लुक) सार्वजनिक भएको छ । यस चलचित्रमा उनी आकर्षक ‘रेट्रो’ र ‘भिन्टेज’ अवतारमा देखिएकी छिन् ।
निर्देशक भन्सालीले स्वयं आफ्नो आधिकारिक सामाजिक सञ्जाल खाता ‘एक्स’ (ट्विटर) मार्फत आलियाको पहिलो तस्बिर सार्वजनिक गरेका हुन् ।
पुरानो शैलीको फेसन, चम्किलो सजावट र क्लासिक शैली समेटिएको उनको यो ‘लुक’ ले अहिले सामाजिक सञ्जालमा निकै चर्चा बटुलिरहेको छ । सार्वजनिक तस्बिरमा आलिया ६० र ७० को दशकको फेसन, चम्किलोपन (ब्लिङ) र भिन्टेज शैलीमा सजिएकी छिन् । आलियाका साथै यस बहुप्रतीक्षित तथा ठूलो बजेटको चलचित्रमा रणवीर कपुर र विक्की कौशलको पनि मुख्य भूमिका रहेको छ।

यसैबीच, चलचित्रबाट अभिनेता रणवीर कपुरको पनि पहिलो झलक सार्वजनिक गरिएको छ । पोस्टरमा रणवीरको उग्र र कठोर अवतार देख्न सकिन्छ । बाक्लो जुँगा, रगतले लतपतिएको सर्ट र चस्मा लगाएका रणवीरको यो रूपले पात्रको गम्भीर र बलियो व्यक्तित्वको झल्को दिन्छ । सर्टमा देखिएका रगतका दागहरूले चलचित्रको एक्सन–प्रधान कथावस्तुतर्फ सङ्केत गर्छन् ।
सञ्जय लीला भन्सालीको निर्देशनमा बनिरहेको ‘लभ एन्ड वार’ विश्वभर २१ जनवरी २०२७ मा हिन्दी, तमिल र तेलुगु भाषामा प्रदर्शन हुनेछ ।
यस चलचित्रको प्रदर्शन मिति यसअघि धेरै पटक परिवर्तन भइसकेको छ । सन् २०२४ को जनवरीमा पहिलो पटक घोषणा गर्दा सन् २०२५ को क्रिसमसमा प्रदर्शन गर्ने योजना बनाइएको थियो । तर, छायाङ्कनको विशाल दायरा र निर्माणका लागि लाग्ने लामो समयका कारण प्रदर्शन स्थगित गरियो ।
त्यसपछि सन् २०२६ को मार्च र पछि १४ अगस्ट २०२६ लाई सम्भावित मिति मानिए पनि व्यापक भिजुअल इफेक्ट्स (VFX) र जटिल हवाई एक्सन दृश्यहरूको काम निर्धारित समयमा पूरा नहुने भएपछि निर्माण पक्षले अन्ततः २१ जनवरी २०२७ लाई नयाँ प्रदर्शन मिति तय गरेको हो ।






