रौतहट, असोज ९ गते ।
रसुवाको भोटेकोशी बाढीमा बुवा गुमाएका सप्तरीको राजविराज–१६, बोरियाका दुई बालबालिकाको पालनपोषण तथा शिक्षाको जिम्मेवारी डा. बबी सिंहले लिने घोषणा गरेकी छिन् ।
मधेशी एकता समाज, नेपाल इकाइकी अध्यक्ष तथा जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य सिंहले १५ वर्षीय सुभाष सदा र उनकी ८ वर्षीया बहिनीको बालिग नहुँदासम्म खानपान र अध्ययनमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेकी हुन् ।
यी दुई बालबालिकाले यसअघि नै क्यान्सरका कारण आमासमेत गुमाइसकेका थिए । पछिल्लो समय रसुवामा आएको बाढीमा बुवाको पनि मृत्यु भएपछि उनीहरू अभिभावकविहीन बनेका हुन् ।
अभिभावक गुमाएका बालबालिकाको शिक्षा र भविष्य प्रभावित नहोस् भन्ने उद्देश्यले आफूले जिम्मेवारी लिने निर्णय गरेको डा. सिंहले बताएकी छिन् ।
उनको घोषणापछि स्थानीयस्तरमा सामाजिक सहयोगको प्रशंसा भएको सञ्चार माध्यमहरूले उल्लेख गरेको छ । बालबालिकाको दैनिक आवश्यकता पूरा गर्नुका साथै शिक्षालाई निरन्तरता दिने प्रतिबद्धताले उनीहरूको भविष्य निर्माणमा सहयोग पुग्ने स्थानीयको भनाइ छ ।
डा. सिंह गत प्रतिनिधिसभा निर्वाचनमा सप्तरी ४ बाट जसपा नेपालकी उम्मेदवारसमेत बनेकी थिइन् । न्यूज कारखाना






