विश्व पर्यटन दिवसको अवसरमा मधेश प्रदेश होटलमा २५ प्रतिशत छुट

गौशाला, असोज ९ गते ।

विश्व पर्यटन दिवस–२०२६ को अवसरमा  होटल तथा पर्यटन व्यवसायी सङ्घ, महोत्तरीले जिल्लाका पर्यटकीय होटलमा विशेष छुटसहित विभिन्न पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ।

‘पर्यटनको पुनर्संरचनाका लागि डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ता (AI)’ भन्ने मूल नाराका साथ मनाइने विश्व पर्यटन दिवसका अवसरमा सङ्घले नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, होटल एसोसिएसन नेपाल (HAN) तथा नाट्टा (NATTA) मधेश प्रदेशसँगको सहकार्यमा असोज १० देखि १८ गतेसम्म विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।

सङ्घका अनुसार असोज १० देखि १७ गतेसम्म मधेश प्रदेशका आठवटै जिल्लाका होटलमा बास बस्ने पाहुनालाई आवासमा २५ प्रतिशत र खानामा १५ प्रतिशत छुट उपलब्ध गराइने सङ्घले जारी गरेको प्रेस विज्ञप्तीमा जनाएको छ ।

यस्तै, महोत्तरीका टुटेश्वरनाथ, जलेश्वरनाथ, मटिहानी, प्राचीन ढुङ्गे हतियार कारखाना, रौजा मजार, पडौलथान तथा पञ्चधुरामाईलगायतका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक स्थलको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष गुञ्जबहादुर कार्कीले बताए ।

सङ्घका अनुसार बर्दीबास र जलेश्वरमा पर्यटनका सम्भावना तथा चुनौतीबारे सरोकारवाला, स्थानीय तह र विभिन्न सङ्घसंस्थाको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरिनेछ ।

यसैगरी पर्यटकीय स्थलको प्रचारप्रसार, पर्यटकलाई स्वागत, भिडियो सामग्रीमार्फत निमन्त्रणा सन्देश प्रवाह, अतिथि सत्कारबारे प्रतिक्रिया सङ्कलन तथा जलेश्वर र बर्दीबासका मुख्य चोक तथा बजार क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ ।

यस्तै, महोत्तरीको नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको सिफारिसमा पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने दुई जना पत्रकारलाई ‘पर्यटन पत्रकारिता सम्मान’ प्रदान गरिने सङ्घले जनाएको छ ।

महोत्तरीको पर्यटन क्षेत्र पछिल्लो समय अपेक्षाकृत सुस्त रहेकाले स्थानीय पर्यटकीय सम्भावनालाई उजागर गर्दै पर्यटन व्यवसायलाई चलायमान बनाउन कार्यक्रम आयोजना गरिएको अध्यक्ष कार्कीले बताए ।

सङ्घले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने गरी कार्यक्रम तथा गतिविधिको समाचार र सामग्रीलाई व्यापक प्रचारप्रसार गरिदिन सञ्चारकर्मीलाई आग्रहसमेत गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको