गौशालामा लामो प्रतीक्षापछि पाए जग्गाको जग्गाधनी पुर्जा

रामबाबु यादव
गौशाला, असोज ९ गते ।

महोत्तरीको गौशाला नगरपालिका–२ निगौलका ३७० परिवारले लामो समयदेखिको प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी पुर्जा प्राप्त गरेका छन् ।

शुक्रबार नापी कार्यालय जलेश्वरको आयोजनामा निगौलमा आयोजित कार्यक्रममा ३७० जना जग्गाधनीलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो । लामो समयदेखि आफ्नो जग्गाको स्वामित्व प्रमाणित गर्ने पुर्जाको प्रतीक्षामा रहेका स्थानीयले पुर्जा पाएपछि खुसी व्यक्त गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेशका यातायातमन्त्री शारदादेवी थापाले जग्गाधनी पुर्जा प्राप्त भएपछि स्थानीयवासीको जग्गामाथिको कानुनी अधिकार थप सुनिश्चित हुने बताईन् ।

उनले गाउँब्लक जग्गाको पुर्जा वितरणले स्थानीयको लामो समयदेखिको समस्या समाधान गर्न महत्वपूर्ण सहयोग पुग्ने उनउले बताईन् ।

महोत्तरी क्षेत्र नं. १ का संघीय सांसद् प्रमोदकुमार महतोले गाउँब्लकको जग्गाको पुर्जा सम्बन्धित जग्गाधनीको घरसम्म पुर्‍याउने कामसँगै भूमिहीन तथा सुकुम्बासीका समस्या समाधानका लागि समेत पहल भइरहेको बताए ।

गौशाला नगरपालिकाका मेयर डा. दीपेन्द्र महतोले गाउँब्लक जग्गाको पुर्जा वितरणले स्थानीयवासीलाई आफ्नो जग्गाको स्वामित्व प्रमाणित गर्ने आधार प्राप्त भएको बताए । उनले आपूm निर्वाचित भएको दिनदेखि नै नगरवासीलाई लालपुर्जा वितरण गर्ने लक्ष्य राखेको र उक्त लक्ष्य आज पुरा भएको बताए ।

यस्तै, गौशाला नगरपालिका वडा नं. २ का वडाध्यक्ष श्यामसुन्दर मण्डलले लामो समयदेखि पुर्जाको प्रतीक्षामा रहेका नागरिकको समस्या समाधान हुनु खुसीको विषय भएको बताए ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, स्थानीय अगुवा, नापी कार्यालयका प्रमुख तथा कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

स्थानीय रामप्रकाश यादवले पुर्जा वितरणलाई निगौलवासीका लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै वर्षौंदेखिको प्रतीक्षा पूरा भएकोमा खुसी व्यक्त गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको