काठमाडौं, असोज १० गते ।
लगातार परेको अविरल वर्षाका कारण देशका विभिन्न भूभागमा बाढी र पहिरो जाँदा प्रमुख सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा पहिरोले सडक पुरिएपछि सर्वसाधारण र सवारीसाधन बिच बाटोमै थपिएका छन् ।
पहिरोका कारण रामेछापको मन्थली नगरपालिका–६ स्थित हातिटारमा मन्थली–खुर्कोट सडकखण्ड अवरुद्ध भएको छ । यस्तै, हिमाली जिल्ला मनाङ जोड्ने चामे–बेसीसहर सडकखण्ड अन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा खसेको पहिरोले यातायात पूर्ण रूपमा रोकेको छ ।
गण्डकी प्रदेशका अन्य स्थानमा पनि पहिरोले ठूलो असर पुर्याएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरो जाँदा उत्तरी म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्डमा सवारीसाधनको आवतजावत ठप्प भएको छ ।
जोखिम बढेका कारण प्रहरीले अन्य थुप्रै जोखिमपूर्ण सडकखण्डमा पनि सवारी सञ्चालनमा रोक लगाएको छ । सुरक्षा निकाय र स्थानीय प्रशासनले पहिरो हटाई सडक खुलाउने प्रयास गरिरहे पनि लगातारको वर्षाका कारण पन्छाउन सकस भइरहेको प्रहरीले जनाएको छ ।






