बाढीको त्रासपछि चामेमा खुलेको मौसम

पोखरा, असोज १२ गते ।

मनाङमा आइतबारसम्म विपत्ति निम्त्याएको मौसम आज भने बिहानैदेखि खुलेको छ ।

मौसम खुलेपछि बाढी र मर्स्याङ्दी नदी थुनिएपछि डरले जंगल, सामुदायिक भवन र ब्यारेकमा रात बिताएका चामेवासीहरु पनि बिहानैदेखि घर फर्किइरहेका छन् ।

आइतबार ठाडो खोला र खट्टे खोलामा बाढी आएर कटान तथा घर, पुल, सडकमा क्षति पुर्‍याएको थियो । साँझ ठाडो खोलामा पहिरो खसेर आएको लेदो र हिलोले मर्स्याङ्दी नदी नदी थुनिँदा स्थानीय त्रसित बनेका थिए ।

अहिले बिहानैदेखि मनाङको आकास पनि खुलेको छ । यसले त्रास कम हुँदै गएको छ । कालो बादलको टुक्रासमेत नदेखिएको मनाङका सहायक सीडीओ कृष्णप्रसाद पौडेलले बताए । ‘बिहान सबै मौसम खुलेको छ । स्थानीय खोलामा बाढी रोकिएको छ र मानिसहरु घर फर्किएका छन् ।’

थुनिएको मर्स्याङ्दी नदी भने यथावतै रहेको र त्यो पनि खोल्ने तयारी भइरहेको उनले जानकारी दिए । मर्स्याङ्दी नदी थुनिएर कतै ठूलो ताल बन्ने त होइन भन्ने त्रास भने अब नरहेको उनले बताए । मर्स्याङ्दी थुनिएर बनेको तालको सतह नबढेको तर फेरि जोखिम बढ्न सक्ने भएकाले खोल्नुपर्ने उनको भनाइ छ ।

२०७८ सालमा स्थानीय खोला र मर्स्याङ्दीमा आएको बाढीले मनाङमा ठूलो भौतिक विनास निम्त्याएको थियो । धेरै मानिसका घर र उब्जनी हुने जग्गा बगर बनेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको