जनकपुरधाम, असोज १६ गते ।
धनुषामा सुरक्षा चाडपर्व लक्षित व्यवस्था कडा बनाइने भएको छ । हिन्दूहरुको महापर्व भनिएका दशैँ, तिहार तथा छठलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष सुरक्षा योजना तयार पारेको हो ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाले एक पत्रकार उसम्मेलन आयोजना गरी चाडपर्व लक्षित विशेष सुरक्षा योजना बारे जानकारी दिदै प्रहरी प्रमुख एसपी रुपेश खड्काले भने विशेष सुरक्षा योजना अन्तर्गत पिकेट, पैदल गस्ती, बजार अनुगमन, मोबाइल टोली र रिफ्रेश प्वाईन्ट लगायतको व्यवस्था गर्ने तयारी गरिएको छ ।
जिल्लाका संवेदनशिल क्षेत्रमा ७० वटा ठाउँमा पिकेट टोली राखिने छ भने आवश्यकता र औचित्यको आधारमा आकास्मिक रुपमा परिचालन गर्न ४६ वटा पैदल गस्ती, बजार अनुगमनका लागि ७ टोली परिचालन गर्ने तयारी अघि बढाइएको उनले जानकारी दिए ।
त्यस्तै, स्वीप अपरेशनका लागि ७ वटा ठाउँ पहिचान गरिएको छ भने सोही अनुसार प्रहरी परिचालनसहित विपद् प्रतिकार्यका लागि १५ वटा टिम, गाडी मोबाइल १३ वटा, लालगढमा एउटा रिफ्रेस सेन्टर, लामो दुरीका सवारी साधन चेकजाँच गर्न २ स्थान, दैनिक आरएससीसी चेकिंगको व्यवस्था गरिने तयारी अघि बढाइएको एसपी खड्काले बताए ।
चाडपर्वको समयमा बैँक तथा वित्तीय संस्था, सुन–चाँदी पसल, मोटरसाइकल चोरीका लागि बीएसपी सुरक्षा कार्ययोजना तयार पारिएको जानकारी दिँदै उनले चाडपर्व लक्षित सुरक्षा योजनामा जम्मा एक हजार २ सय ११ प्रहरी परिचालन गर्ने तयारी गरिएको उनले बताए ।
यसका साथै जिल्ला प्रहरी कार्यालयबाट भएको गतिविधिको बारेमा जानकारी दिँदै जेठ २३ गतेदेखि असोज १५ गतेसम्ममा ५९९ वटा मुद्दा दर्ता भएकोमा ५९० वटा फछर्यौट भएको उनले बताए ।
त्यस्तै, अनुसन्धानमा ६६ वटा चालु मुद्दा रहेको भने विगतदेखि हालसम्म १ हजार २७० वटा पेण्डिंग मुद्दा रहेको जानकारी समेत उनले दिए । फैसला कार्यान्वयको क्रममा यस अवधिमा ६३८ जना पक्राउ गरिएकोमा उनीहरुबाट २३० वर्ष ९ महिना २६ दिन कैद भुक्तान एसपी खड्काले बताए । न्युज कारखाना






