काठमाडौं, असोज १८ गते ।
नेसन्स लिगमा पोल्यान्डले १० खेलाडीमा सीमित रोमानियालाई ६–० को फराकिलो अन्तरले पराजित गर्दा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गरेका छन्।
फियोरेन्टिनामा लोनमा रहेका टोटनह्यामका डिफेन्डर राडु ड्रागुसिन २२औँ मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वारसामा रोमानियाको टोली धराशायी बनेको थियो।
लेवान्डोस्कीले पेनाल्टीमार्फत गोलको खाता खोले भने दोस्रो हाफको सुरुवातमै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि एक आत्मघाती (ओन) गोल तथा पियोत्र जिलिन्स्की र जान बेडनारेकका गोलहरू थपिए।
लगत्तै ३८ वर्षीय लेवान्डोस्कीले आफ्नो सातौँ अन्तर्राष्ट्रिय ह्याट्रिक पूरा गरे। बार्सिलोनाका पूर्व स्ट्राइकर लेवान्डोस्कीले हालसम्म ९२ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्।
जितपछि पोल्यान्ड समूह ‘बी ४’ को तेस्रो स्थानमा उक्लिएको छ भने रोमानिया चौथो स्थानमा यथावत् छ। दोस्रो पटक टोलीको जिम्मेवारी सम्हालेका जर्ज हागी आफ्ना सुरुवाती तीन प्रतिस्पर्धात्मक खेलमा पराजित हुने पहिलो रोमानियाली प्रशिक्षक बनेका छन्।
सोही समूहको अर्को खेलमा बोस्निया–हर्जगोभिना र स्वीडेन १–१ को बराबरीमा सकिएका छन्। यस खेलसँगै एडिन जेकोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदा भावुक दृश्यहरू देखिएका थिए।
म्यानचेस्टर सिटीका पूर्व फरवार्ड, ४० वर्षीय जेकोले पहिलो हाफको अन्त्यतिर गोल गरे पनि तयारीका क्रममा बल खेलको दायराभन्दा बाहिर गएकाले त्यसलाई मान्यता दिइएन।
उनको १५२औँ अन्तर्राष्ट्रिय खेल (जसमा उनले ११ नम्बरको जर्सी लगाएका थिए) को अवसरमा ११औँ मिनेटमा आतिशबाजी गरिएको थियो। जेनिसामा ६२औँ मिनेटमा मैदानबाट बाहिरिँदा दर्शकहरूले उनलाई उठेर सम्मान (स्ट्यान्डिङ ओभेसन) व्यक्त गरे।
खेलपछि औपचारिक समारोह, ‘गार्ड अफ अनरु र जेकोप्रति धन्यवाद सन्देशसहितको ड्रोन शो आयोजना गरियो। साथै, मैदानको चक्कर (ल्याप अफ अनर) लगाउने क्रममा दर्शकहरूले उनलाई उपहारस्वरूप ‘सफ्ट टोय’ (नरम खेलौना) हरू प्रदान गरेका थिए।
यसअघि आर्सनलका स्ट्राइकर भिक्टर ग्योकेरेसले स्वीडेनलाई अग्रता दिलाए पनि पछि केलिम अलाजबेगोभिचले बोस्निया(हर्जगोभिनाका लागि बराबरी गोल फर्काएका थिए।
यसैगरी, केभिन डी ब्रुइनले दुई गोल गरेपछि बेल्जियमले टर्कीलाई ३–० ले पराजित गर्दै समूह ‘ ए १’ मा दोस्रो स्थानमा उक्लिएको छ। ३५ वर्षीय नापोली मिडफिल्डरले खेलको दुवै हाफमा एक–एक गोल गरे भने रोमेलु लुकाकुले अर्को गोल थपे।
अर्को खेलमा लिभरपूलका डिफेन्डर मिलोस केर्केजले गरेको एकमात्र गोलको मद्दतले हंगेरीले बुडापेस्टमा जर्जियालाई हराउँदै प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ। हंगेरी समूह ‘बी २’ मा शीर्ष स्थानको नर्दन आयरल्यान्डभन्दा तीन अंकले पछि पर्दै तेस्रो स्थानमा रहेको छ। न्यूज कारखाना






