कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदै

काठमाडौं, असोज १९ गते ।

काठमाडौंमा जारी नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदैछ । खुलामञ्चमै हुने बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पेस हुँदैछन् ।

बन्दसत्रमा करिब ७ हजार ५०० प्रतिनिधि सहभागी हुँदैछन् । सहभागीहरुलाई भूगोलका आधारमा तीन समूह ९हिमाल, पहाड र तराई–मधेश० मा विभाजन गरी प्रतिवेदनमाथिको छलफलमा सहभागी गराउने कार्यक्रम छ । हिजो खुलामञ्चमा महाधिवेशनको उदघाटन समारोह भएको थियो ।

केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन कार्यक्रम पनि आजैबाट सुरु हुने भएको छ ।

निर्वाचन तालिका सार्वजनिक

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज साँझ ५ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुने छ ।

आज ५ बजे मतदाता नामावली प्रकाशन हुने छ । ५ बजेदेखि ६ः३० बजेसम्म मतदाता नामावली प्रकाशनउपर दाबीविरोधको समय तोकिएको छ । आज बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

यस्तै, असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन हुने छ ।

अपराह्न ४ः३० बजे अन्तिम नामावली प्रकाशन, अपराह्न ४ः३० देखि साँझ ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध तथा बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।

त्यसैगरी, असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । असोज २१ गते दिनभर प्रचारप्रसार गर्न पाइने छ ।

त्यसपछि असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्यसचिव कटुवालले जानकारी दिए ।

मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवनमा हुनेछ । मतदान सकिएलगत्तै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसका एक पदाधिकारीका अनुसार निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको