काठमाडौं, कार्तिक १९ गते ।
बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ ।
लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले पूरै २० ओभर खेल्दा ८ विकेट गुमाएर ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।
लुम्बिनीले यस सिजन खेलेको तीनवटै खेलमा जित हात पारेको छ भने चितवन राइनोज विरुद्धको खेलमा वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो । जनपकपुरलाई हराएपछि लुम्बिनी चार खेलबाट ७ अंकसहित शीर्ष स्थानमा कायम छ र प्लेअफ पुग्ने होड बलियो बनाएको छ ।
पाँच खेल खेलिसकेको जनकपुरको भने यो तेस्रो हार हो र यस हारपछि प्लेअफ पुग्न जनकपुरलाई बाँकी दुवै खेल जित्नुपर्ने आवश्यकता बनेको छ ।
जनकपुरका लागि आठौं नम्बरमा ब्याटिङ गरेका कप्तान हर्मीत सिंहले २० बल खेल्दै ३ छक्का मदतमा सर्वाधिक ३३ रन बनाए । नवौँ नम्बरमा ब्याटिङ गरेका आदित्यले २३ बल खेल्दै ४ चौका मदतमा अविजित ३० रन बनाए । हर्मीत र आदित्यले ब्याटिङमा प्रयास गरेपनि जिताउन सकेनन् ।
६५ रनमै ५ विकेट गुमाएको अवस्थामा कप्तान हर्मीत सिंह र आदित्य महताले जनकपुरको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । यो जोडीले आठौं विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । तर १८औं ओभरको चौथो बलमा हर्मीत आउट भएपछि यो साझेदारी तोडियो ।
यस्तै बंगलादेशी खेलाडी सेफ हसनले २५ बल खेल्दै ४ चौका मदतमा सर्वाधिक २८ रन तथा ओपनर तृतराज दासले १८ बल खेल्दै १ चौका मदतमा १८ रन बनाए ।
परभेज हवसेन इमोन १, विशाल सुशिलङ ४, अनिल शाह १, जिमी निशम ९ रन बनाएर आउट भए भने अभिषेक तिवारीले खाता खोल्न सकेनन् ।
लुम्बिनीका लागि बलिङमा डार्शी सर्टले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । तिलक भण्डारीले २ तथा रुबेन ट्रम्पलम्यान र शेर मल्लले १(१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । उनले ३१ बल खेल्दै ४ चौका र १ छक्का रहार गरे । निरोशन डिकवेलाले २७ बल खेल्दै २ चौका र १ छक्का मदतमा २७ रन नै जोडे ।
आसिफ शेख र दिलिप नाथले समान २१ रन जोड्दा शामिन हुसेनले १३ रन बनाए । ओपनर डार्शी सर्ट खेलको पहिलो बलमै आउट भएका थिए ।
रुबेन ट्रम्पलम्यानले ८ बल खेल्दै २ छक्का मदतमा १५ रन बनाए । आठौं नम्बरमा ब्याटिङमा आएका सन्दिप जोरा ९ रन बनाएर आउट भए ।
१७ ओभर स्पीनबाट बलिङ गराएको जनकपुरका लागि स्पीनरले ४ विकेट लिँदा पेसरले ३ विकेट लिएका थिए । १६औं ओभरपछि लगातार ३ ओभर मात्र पेस बलिङ गरेको जनकपुरका लागि अभिषेक तिवारी र राहुल यादवले ३ विकेट लिए । अन्तिम ओभर स्पीनरले नै बलिङ गरेका थिए ।
जनकपुरका विशाल सुशलिङ र राहुल २–२ विकेट लिए । विशालले ४ ओभरमा २१ र राहुलले २ ओभरमा १७ रन खर्चिए । कप्तान हर्मीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले १–१ विकेट लिए ।








