हिंसा पीडितका लागि सहारा बन्दै एकद्वार संकट व्यवस्थापन केन्द्र

झापा, कार्तिक १९ गते ।

लैङ्गिक हिंसाबाट पीडितका लागि भद्रपुरमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र यहाँ प्रभावकारी बन्दै गएको छ । सबैखालका हिंसा पीडित महिला तथा वालवालिकालाई एउटै स्थानबाट उद्धार, उपचार, सुरक्षा, न्याय, पुनर्वास, परामर्श लगायतका सेवा प्रदान निःशुल्क गर्नका लागि केन्द्रको स्थापना भएको हो । प्रादेशिक अस्पताल भद्रपुरमा यो सेवा उपलब्ध छ ।

अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्रबाट आर्थिक वर्ष २०८१/०८२ मा १४७ जना हिंसापीडितले सेवा प्राप्त गरेको केन्द्रकी फोकल पर्सन निलुशा शाक्यले बताईन् । सेवा पाएकामध्ये १०४ जना जबरजस्ती करणीसम्बन्धी हिंसाका पीडित महिला रहेका छन् । घटनाका पीडकहरु १९ देखि ४९ वर्ष उमेर समूहको रहेको समेत उनले जानकारी दिईन् ।

“ लैंगिक हिंसा, घरेलु हिंसा, बलात्कार, यौन शोषण, मानव बेचबिखन, जबर्जस्ती विवाह लगायतका घटनाका पीडितहरूले एकै ठाउँबाट सेवा पाउन सकुन् भनेर सरकारले केन्द्र सञ्चालनमा ल्याएको हो,” फोकल पर्सन शाक्य भन्नुहुन्छ- “पीडितले यहाँबाट आवश्यक सेवा एकै ढोकाबाट पाउँछन् । विभिन्न निकाय धाइरहनु पर्दैन ।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महिला, वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहकार्यमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र झापाका दुई अस्पतालसहित कोशी प्रदेशको १८ वटा अस्पतालमा रहेको छ ।

प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मनोजकुमार साहले केन्द्रमार्फत स्वास्थ्य तथा चिकित्सकीय सेवा, कानूनी उपचार सेवा, मनोसामाजिक परामर्श, सुरक्षित आवास गृह र पुनस्र्थापना सेवा प्रदान भइरहेको बताए ।

फोकल पर्सन शाक्यका अनुसार केन्द्रको संरचनामा प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने र सरोकारवाला सरकारी निकाय एवम् महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने सामाजिक संस्थाका प्रतिनिधि सदस्य रहने व्यवस्था छ भने जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष र स्थानीय तहका उपप्रमुखरउपाध्यक्ष सदस्य रहनेगरी सल्लाहकार समिति रहने प्रावधान छ ।

केन्द्रले आव २०८१/८२ मा विभिन्न शीर्षकमा ११ लाख ४४ हजार १४२ खर्च गरेको र आव २०८२/८३ का लागि १५ लाख ९५ हजार ३०० को बजेट पारित गरेको शाक्यले जानकारी दिए । प्रादेशिक अस्पताल भद्रपुरमा विगत सात वर्षदेखि केन्द्र सञ्चालनमा रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको