नगरपालिकाबाटै प्यान, भ्याटलगायत करसम्बन्धी सेवा

भक्तपुर, वैशाख २२ गते ।

आन्तरिक राजस्व कार्यालयबाट वितरण हुँदै आएको स्थायी लेखा नम्बर (प्यान) अब भक्तपुरको सूर्यविनायक नगरपालिकाले वितरण गर्ने भएको छ ।

जनतालाई छिटो र छरितो प्यानलगायत करसम्बन्धी कार्य गर्न सरकारको निर्देशनसँगै नगरपालिकाले सोसम्बन्धी सेवा प्रदान गर्ने भएको हो ।

आन्तरिक राजस्व विभागको गत पुस २० गतेको निर्णयलाई कार्यान्वयनमा ल्याउन आज आन्तरिक राजस्व कार्यालय, भक्तपुर र नगरपालिकाबीच समझदारी भएको छ ।

नगरप्रमुख वासुदेव थापाको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत युवराज आचार्य र आन्तरिक राजस्व कार्यालयकी प्रमुख कर अधिकृत उषा पोखरेलले यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

हस्ताक्षरपछि नगरप्रमुख थापाले करसम्बन्धी सेवालाई थप सरल, सहज र पहुँचयोग्य बनाउँदै नगरवासीलाई राजस्वसम्बन्धी आवश्यक सेवा प्रदान गरिने बताए । सेवा सञ्चालनमा आएसँगै प्यान कार्डलगायत सामान्य कामका लागि राजस्व कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको उनको भनाइ थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले राजस्व कार्यालयले नगरपालिकाका कर्मचारीलाई केही दिनमै तालिम प्रदान गर्ने र लगत्तै सेवा सञ्चालन गर्ने समझदारी भएको बताए । अब पालिकाबाट व्यक्तिगत र व्यावसायिक प्यान लिन सक्ने र मूल्य अभिवृद्धि कर (भ्याट), अन्तः शुल्क र कर चुक्तासम्बन्धी प्रारम्भिक कागजात नगरपालिकामा पेस गरी नगरपालिकाले आन्तरिक राजस्व कार्यालयलाई ‘अनलाइन’मार्फत सिफारिस गर्ने उनले जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत आचार्यले त्यसरी सिफारिस गरिएपछि कार्यालयले अनलाइनबाटै कागजात जाँच गरी पुनः नगरपालिकामा पठाउने र नगरपालिकाबाट प्रमाणपत्र जारी गरिने बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको