मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार

मुस्ताङ, असार २२ गते ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा प्राकृतिक रूपमा पाइने बहुमूल्य हिमाली औषधीय जडीबुटी तोरा (सिबकथोन) को संरक्षणसँगै नयाँ खेती विस्तार गरिएको छ ।

डिभिजन वन कार्यालय मुस्ताङले चालु आर्थिक वर्षको सङ्घीय सशर्त अनुदानअन्तर्गत करिब रु दुई लाखको लागतमा स्थानीय मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थामार्फत तोरा (सिबकथोन) को संरक्षण तथा खेती विस्तार कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यालय प्रमुख चुडामणि बरालका अनुसार झारकोटस्थित तोरा ताल आसपासको एक दशमलव ३२ हेक्टर क्षेत्रमा प्राकृतिक रूपमा उम्रिएको तोरा संरक्षण गर्नुका साथै थप क्षेत्र विस्तारका लागि यसको बीउ छरिएको छ । प्राकृतिक स्रोतको संरक्षण गर्दै तोरालाई व्यावसायिक रूपमा विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

कार्यक्रमअन्तर्गत करिब ५० देखि ६० जना स्थानीयको जनश्रमदानमा तोरा ताल क्षेत्रका झाडी सरसफाइ, व्यवस्थापन तथा गह्रा सम्याउने काम गरिएको छ । त्यसपछि नयाँ क्षेत्रमा तोराको बीउ छरेर खेती विस्तार गरिएको हो ।

कार्यालयका अनुसार स्थानीय स्रोतको उपयोग गर्दै तोरा खेतीलाई पकेट क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । यसबाट स्थानीयको आम्दानी बढ्नुका साथै तोरा ताल क्षेत्रको प्राकृतिक सौन्दर्य संरक्षण र प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

खेती विस्तारका लागि करिब एक हजार लिटर क्षमताको सिँचाइ ट्याङ्की निर्माण गरिएको छ भने तीन सय मिटरभन्दा बढी पाइपलाइन जडान गरिएको छ । साथै, तोरा खेती विस्तार गर्न सकिने नयाँ सम्भावित क्षेत्रको समेत पहिचान गरिएको कार्यालयले जनाएको छ ।

यसअघि झारकोटको भिरालो पाखोस्थित तोरा ताल क्षेत्रमा प्राकृतिक रूपमा उम्रिने तोरा स्थानीयले सङ्कलन गरी प्रशोधन गरेर जुस उत्पादन तथा बिक्री गर्दै आएका थिए । अब यसलाई अझ व्यवस्थित र व्यावसायिक बनाउँदै पकेट क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य रहेको प्रमुख बरालले बताए ।

वडाध्यक्ष प्रमेश गुरुङका अनुसार झारकोटका स्थानीयले प्रत्येक वर्ष तोरा सङ्कलन गरी जुस उत्पादन गरेर आम्दानी गर्दै आएका छन् । तोराको संरक्षण र खेती विस्तारले स्थानीयको आयआर्जन तथा रोजगारीका अवसर वृद्धि हुने विश्वास गरिएको छ ।

उच्च हिमाली शुष्क क्षेत्रमा पाइने काँडेदार झाडी प्रजातिको वनस्पति तोरा (सिबकथोन) मुस्ताङ, मनाङ तथा तिब्बती क्षेत्रमा प्राकृतिक रूपमा उम्रने गर्छ । समुद्री सतहदेखि करिब तीन हजारदेखि पाँच हजार मिटर उचाइसम्म पाइने यो वनस्पति मुस्ताङमा विशेषगरी झारकोट क्षेत्रमा रहेको स्थानीयको भनाइ छ ।

एकदेखि तीन मिटर उचाइसम्म बढ्ने तोरामा वसन्त ऋतुमा फूल लाग्ने र गर्मीयामको अन्त्यदेखि शरद ऋतुसम्म फल पाक्ने गर्छ । यसको फलमा भिटामिन ‘सी’ र एन्टिअक्सिडेन्ट प्रशस्त पाइने भएकाले पोषण तथा परम्परागत औषधीय प्रयोजनमा प्रयोग हुँदै आएको छ । यसका साथै यसको बुट्यानले माटो कटान नियन्त्रण, वन्यजन्तुलाई आहार उपलब्ध गराउने तथा फल प्रशोधन गरी जुस उत्पादनबाट आर्थिक लाभ लिन सकिने भएकाले यसको संरक्षण र विस्तारलाई महत्वपूर्ण मानिएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको