सल्यान, साउन १७ गते ।
जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ राष्ट्रिय फोटो पत्रकार समूह सल्यानले ‘क्लिक सल्यान’ फोटो वाक कार्यक्रमको सुरुवात गरेको छ। जिल्लाको कालिमाटी गाउँपालिका–३, जगेनामा रहेको धागे छरा झरनामा पहिलोपटक उक्त कार्यक्रम आयोजना गरिएको हो।
राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका अध्यक्ष अमृत बाबु बुढाथोकीका अनुसार तस्वीरमार्फत जिल्लाको पर्यटन प्रवर्द्धनका लागि फोटो वाक कार्यक्रमको सुरुवात गरिएको बताउँदै कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनमा जिल्लाका अन्य पर्यटकीय स्थलमा समेत पुग्ने बताए ।
तस्वीरमार्फत सल्यानका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले ‘क्लिक सल्यान’ फोटो वाक कार्यक्रमको सुरुवात गरेका हौं’, उनले भने, ‘यो अभियानलाई निरन्तरता दिँदै जिल्लाका अन्य पर्यटकीय स्थलमा पनि पुगेर फोटो वाक कार्यक्रम सञ्चालन गर्ने हाम्रो योजना छ।’
नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष तथा राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका सल्लाहकार डिल्लीराज रावतले जिल्लाको पर्यटन क्षेत्रको प्रचार९ प्रसारका लागि राष्ट्रिय फोटो पत्रकार समूहले सुरु गरेको फोटो वाक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
उनले यस अभियानले जिल्लालाई राष्ट्रियस्तरमा चिनाउने फरक र प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरे । ‘फोटो पत्रकारहरूले क्यामेरामार्फत पर्यटनको सम्भावना उजागर गर्ने यो अभियान निकै सकारात्मक छ। ‘क्लिक सल्यान’ कार्यक्रमलाई निरन्तर सञ्चालन गर्न सके सल्यानका पर्यटकीय गन्तव्य राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्नेछ’, उनले भने ।
फोटो वाक कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका पदाधिकारी तथा सदस्यहरूसँगै जिल्लामा क्रियाशील अन्य सञ्चारकर्मीहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी पत्रकारहरूले धागे छरा झरनाको प्राकृतिक सौन्दर्यलाई तस्वीरमार्फत अभिलेखीकरण गर्दै जिल्लाका पर्यटकीय गन्तव्यहरूको प्रचार/प्रसारमा गर्नेछन् ।






