जनकपुरधाम, भाद्र १२ गते ।
भोटेकोशीमा आएको अकल्पनीय बाढीका कारण सम्पर्कविहीन रहेका मधेश प्रदेशका १० जना सम्पर्कमा आएका छन् । अझै ११६ जना भने सम्पर्कविहीन छन् ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालका अनुसार यसअघि सम्पर्कविहीन रहेका १० जना परिवारको सम्पर्कमा आएका छन् । उनीहरूको पहिचान भने प्रहरीले खुलाएको छैन ।
यसअघि प्रहरीले १२० जना पुरुष, पाँच जना महिला र एक जना बालक सम्पर्कविहीन रहेको बताएको थियो ।
जसमा सबैभन्दा बढी सप्तरीका ३१ जना थिए । यस्तै, पर्साका २८, बाराका १९, रौतहटका १५, सर्लाही र महोत्तरीका १०–१०, सिरहाका ८ तथा धनुषाका ५ जना बाढीपश्चात् सम्पर्कविहीन रहेको प्रहरीको रेकर्डमा छ ।
घरपरिवार तथा आफन्तले निवेदन तथा फोनमार्फत टिपाएको विवरणअनुसार यो संख्या खुलेको एसएसपी ढकालले बताए ।
बेपत्ता भएको स्थानमा ९१ जनाको स्थान ‘रसुवा’ मात्र उल्लेख गरिएको प्रहरीले जनाएको छ । अन्य व्यक्तिहरू रसुवाका विभिन्न जलविद्युत् आयोजना, नुवाकोटको बेत्रावती, त्रिशूली बजार तथा अन्य काम वा व्यवसायसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ ।
केही व्यक्ति अपर त्रिशूली, त्रिशूली हाइड्रोपावर, मौलुङ हाइड्रोपावरलगायतका आयोजनासँग सम्बन्धित रहेको विवरणमा उल्लेख छ ।






