रसुवा बाढी : यस्तो छ उद्धार अपडेट

काठमाडौं, भदौ १६ गते ।

रसुवा बाढीका कारण ठूलो धनजनको क्षतिपछि उद्धारको काम जारी छ। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्‍याएको छ।

भदौ १० गते बिहानको बाढीले क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा राहत उद्धारको काम भइरहेको हो।

मंगलबार बिहान ११ बजेसम्म नेपाली सेनाले २३ जनाको शव हेलिकप्टरमार्फत उद्धार गरेको छ। त्यस्तै चिलिमे हाइड्रोको टनेलबाट विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले करिब ५० मिटर भित्रसम्म पुगी खोजी कार्य गरेको छ।

लाङटाङ हाइड्रोमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार कार्य गरिएको छ। त्यस्तै अपर त्रिशूली–१ हाइड्रोमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलको करिब २०० मिटरसम्म प्रवेश गरी खोजी कार्य गरे पनि उद्धार हुन सकेको छैन।

त्रिशूली–३ ए मा टनेल हेड फेला परेको र कम्प्रेसरबाट हावा दिने कार्य भएको छ। टनेल भित्रको पानी निकाल्ने कार्य भईरहेको साथै ३ वटा एक्साभेटर प्रयोग गरी पछाडितर्फ रहेको वैकल्पिक मार्ग करिब १५ मि। खोलिएको छ। ढुंगा फुटाएर टनेल भित्र छिर्ने बाटो बनाइँदैछ।

त्रिशूली ३ बीमा पनि विज्ञसहितको सुरक्षाकर्मी खटिई टनेलमा प्रवेश गर्नको लागि प्रवेशद्वार पत्ता लगाई भित्र एक्साभेटर समेत प्रयोग गरी खन्ने कार्य भइरहेको छ।

बाढीपछि तत्काल उद्धारको क्रममा हाइड्रो इलाकाहरूबाट २७९–रसुवागढी–२, माथिल्लो त्रिशूली,१–३३, माथिल्लो त्रिशूली–३ ए–२२१, माथिल्लो त्रिशूली–बी–२, मैलुङ–९, नुवाकोट सौर्य विद्युत् आयोजना–४, त्रिशूली जलविद्युत आयोजना(३ र देवघाट जलविद्युत–५० जनाको जीवित उद्धार गरिएको थियो।

त्यस्तै रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ९ हजार २ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सुचारु एवम् आपत्कालीन उपचार कार्य गरिरहेको सेनाले जनाएको छ।

त्यस्तै शवहरू संकलनको काम पनि भइरहेको बताइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको