शैलेन्द्र महतो
जनकपुरधाम, भदौ १९ गते ।
रसुवाको बाढीपछि सम्पर्कविहीन भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का ३१ वर्षीय सञ्जयकुमार साह नौ दिनपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र आज दशौं दिन सकुशल भेटिए । उनी भेटिँदा आशा गुमाउँदै गएको परिवारमा खुसी छाएको छ । दश दिनदेखि उनको परिवारमा चलिरहेको रुवाबासी रोकिएको छ ।
गत भदौ १० गते आएको बाढीपछि सम्पर्कविहीन भएका साह त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुन् । सुरुङभित्र रहेका साहलाई नेपाली सेनासहितको उद्धार टोलीले जीवितै उद्धार गरेको हो ।
सञ्जय सम्पर्कमा आएपछि उनका घरपरिवारमा खुसी छाएको छ । सुरुङभित्रबाट उद्धारको समय लम्बिँदै जाँदा परिवार निराश बन्दै गएको थियो ।
रुँदारुँदै आमा कपुरदेवी र श्रीमती लक्ष्मी साहका आँसु सुक्न थालेका थिए । परिवारजन उनको खोजीमा बेचैन थिए ।
सञ्जयका जेठान देवकुमार साह उनलाई खोज्न घटनास्थलमै पुगेका थिए । तर, लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारको आशा निराशामा परिणत हुँदै गएको थियो । सुरुङभित्रै रहेको हुन सक्ने अनुमान गरिए पनि उद्धारमा ढिलाइ हुँदा परिवारको मन भारी हुँदै गएको थियो ।
‘भतिज सञ्जय सुरक्षित नै छन् भन्ने आशा थियो । तर, दिन बित्दै जाँदा सुरुङबाट उद्धारमा ढिलाइ हुँदा हाम्रो निराशा बढ्दै थियो,’ उनका काका कुशेश्वर साहले भने ।

नौ दिनपछि सञ्जय जीवितै भेटिनुले जलविद्युत् आयोजनाका सुरुङभित्र सम्पर्कविहीन रहेका अन्य व्यक्तिहरू पनि जीवितै हुन सक्ने आशा पलाएको परिवारजनको भनाइ छ ।
सञ्जय सुरुङभित्र भेटिएको खबरले दश दिनदेखि परिवारमा भइरहेको रुवाबासी खुसीमा परिणत भएको उनकी बहिनी सुधाले बताइन् ।
‘दाइ सम्पर्कविहीन भएपछि आमा, बुबा, भाउजू लगायत परिवारमा एक प्रकारले शोक छाएको थियो । उहाँ बाँच्नुभएको हुन सक्ने आशा भए पनि दश दिन भइसक्दा हामी निराश हुँदै गएका थियौँ,’ बहिनी सुधाले भनिन्, ‘तर दाइ सुरुङभित्रै हुनुहुन्छ, चाँडै उद्धार भए सुरक्षित नै हुनुहुन्छ भन्ने मनमा आशा थियो । त्यो यथार्थमा परिणत भयो । भगवानले हाम्रो परिवारको खुसी फर्काइदिनुभयो ।’
उनले दाइ सुरक्षित भेटिनुभएको खबरले सम्पर्कविहीन परिवारहरूमा पनि आशा जागेको बताइन् । ‘दाइ सुरुङभित्र सुरक्षित भेटिँदा सम्पर्कविहीन परिवारहरूमा पनि आशा जागेको छ । मेरो दाइ जस्तै सुरक्षित रूपमा अरू सम्पर्कविहीनहरू पनि भेटिऊन् भन्ने भगवान्सँग प्रार्थना गर्छु,’ उनले भनिन् ।
काका कुशेश्वरले पनि सञ्जयजस्तै सबै सम्पर्कविहीन व्यक्ति सुरुङबाट सकुशल भेटिऊन् भन्ने कामना गरेका छन् । ‘भगवानमाथि आशा गरौं । प्रार्थना गरौं उहाँ सम्पर्कबिहीनहरुलाई सञ्जय जस्तै सुरक्षित घर फर्काइदिनु हुन्छ’ उनले भने ।
सञ्जय सुरुङबाट सुरक्षित भेटिएपछि उनका बाबु रामफल साह, आमा कपुरदेवीसहित परिवारजन काठमाडौं जान लागेका छन् । सञ्जय सम्पर्कबिहीन हुँदा श्रीमती लक्ष्मीलाई सम्हाल्न गाह्रो भएको थियो । उनी माइतमा छिन् । उनका अढाई वर्षीया छोरी छन् ।

बहिनी सुधाका अनुसार भदौ १० गते बाढी आउनुअघि बिहान करिब ७ बजेतिर सञ्जजयले घरपरिवारसँग अन्तिम पटक कुरा गरेका थिए । त्यसपछि बाढी आएपछि मोबाइलमा फोन नलाग्दा उनी सम्पर्कविहीन भएका थिए ।
त्यसयता परिवार आशा र निराशाबीच बाँचिरहेको थियो । बेलाबेला सम्पर्कमा आएका व्यक्तिहरूको नामावली हेर्ने, छोरा सञ्जय सुरक्षित भेटिऊन् भन्ने कामना गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालका सामग्री हेर्ने तथा संजयको मोबाइलमा पटक–पटक फोन गर्ने गर्दै परिवारले दिन बिताइरहेको थियो ।
नौ दिनपछि सुरुङभित्र सञ्जय जीवितै भेटिएपछि भने लामो समयदेखि निराश बनेको परिवारमा पुनः खुसी फर्किएको छ । उनको उद्धारले रसुवाको बाढीपछि सम्पर्कविहीन रहेका अन्य व्यक्तिका परिवारमा पनि नयाँ आशा जगाएको छ । सञ्जय दुई दाजुभाई छन् । कान्छो सञ्जीव साह हुन् ।






