काठमाडौं, असोज १ गते ।
पर्साको वीरगञ्जमा बेवारिसे अवस्थामा रहेको भारतीय नम्बर प्लेटको कारबाट चार थान पेस्तोल र ६ थान गोली बरामद भएको छ ।
वीरगञ्ज महानगरपालिका–१५ वास्तुबिहार चोकमा बुधबार बेवारिसे अवस्थामा रहेको यूपी १६ एजे ३३०१ नम्बरको भारतीय नम्बर प्लेटको कारबाट सशस्त्र प्रहरीले पेस्तोल र गोली बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले कारबाट २ थान कटुवा पेस्तोल, २ थान सिक्सर पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने ७.६२ एमएमका ६ थान गोली बरामद गरेको हो ।
बरामद पेस्तोल, गोली र बेवारिसे कारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।






