मधेस प्रदेशले आफ्नै अग्रसरतामा छाप्न थाल्यो सवारी चालक अनुमतिपत्र

जनकपुरधाम, असोज ७ गते ।

मधेस प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले आफ्नै मातहत छपाइ गरिएका सवारी चालक अनुमतिपत्र बुधबार यातायात कार्यालयहरूलाई हस्तान्तरण गरेको छ ।

मन्त्रालयले पत्रकार सम्मेलन गर्दै प्रदेशभरिका विभिन्न कार्यालयबाट माग अनुसार छपाइ गरिएका ३ हजार ८१ थान चालक अनुमतिपत्र वितरण गरेको हो । प्रदेशको श्रम तथा यातायातमन्त्री शारदा थापाले जनकपुर कार्यालयको अनुमतिपत्र यातायात कार्यालय प्रमुख वासुदेव मल्ललाई हस्तान्तरण गरिन् ।

हस्तान्तरण कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकारकै अग्रसरतामा सुरक्षण मुद्रण केन्द्रबाट छपाइ गरिएका चालक अनुमतिपत्र वितरण गर्न थालिएको बताइन् ।

उनले भनिन्, ‘मधेस प्रदेशको नाम जहिले पनि खराब कामहरूमा अग्रपंक्तिमा आउने गर्थ्यो, तर कुनै कुनै काम त हामीले पनि अग्रणी रूपमा गर्ने रहेछौँ नि १ अरू प्रदेशले भन्दा अघि नै हामीले लाइसेन्स यसरी छपाएर वितरण गर्न थालेका छौँ ।’

छपाइ गरिएका चालक अनुमतिपत्र स्थानीय तहसँग सहकार्य गरी वडासम्म पुर्‍याएर जनताको घरदैलोमै वितरण गर्ने तयारी भइरहेको मन्त्री थापाको भनाइ छ ।

मन्त्रालयका सचिव रंजित यादवले अब ट्रायल पास गरेकाहरूले एकहप्ता भित्र आफ्नो लाइसेन्स पाउने ठोकुवा गरे । उनले भने, ‘विगतमा संघीय सरकार मातहत छपाइमा जाँदा केही समय लाग्थ्यो, तर अब हामी आफैँ संख्या तोकेर प्रिन्टका लागि सुरक्षण केन्द्रमा पठाउँछौँ । निश्चित समयमा छपाइ भएर आउने हुँदा पहिलाजस्तो अब लाइसेन्स पाउन समय लाग्दैन ।’

यातायात कार्यालय जनकपुरका प्रमुख बासुदेव मल्लले प्रदेश सरकारबाटै छपाइको काम सुरु भएकाले सेवाग्राहीलाई अब कठिनाइ नहुने बताए । उनले भने, ‘अहिले १ महिनाभित्र हामीले लाइसेन्स वितरण गर्ने गरेका छौँ, तर अब त ट्रायल पास भएको १ हप्ताभित्रै उपलब्ध गराउन सक्नेछौँ ।’

मन्त्रालयले बुधबार यातायात व्यवस्था कार्यालय राजविराज सप्तरीलाई कार्ड संख्या ५२ थानको एक प्याकेट, यातायात व्यवस्था कार्यालय लहान सिरहालाई ४६० थान, यातायात व्यवस्था कार्यालय बर्दिबास महोत्तरीलाई ३०३ थान, यातायात व्यवस्था कार्यालय जनकपुरलाई ९३२ थान, यातायात व्यवस्था कार्यालय मलंगवा सर्लाहीलाई ३२ थान, यातायात व्यवस्था कार्यालय रौतहट गौरलाई ११९ थान, यातायात व्यवस्था कार्यालय कलैया, बारालाई ११ थान र यातायात व्यवस्था कार्यालय वीरगंज पर्सालाई १ हजार १७२ थान चालक अनुमतिपत्र पठाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको