पब्लिक सन्दश
जनकपुरधाम, असोज ८ गते ।
महोत्तरीको गौशाला नगरपालिकाले प्रतिकूल मौसमको जोखिमलाई मध्यनजर गर्दै नगरभित्र सञ्चालित सम्पूर्ण विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
बुधबार गौशाला नगरपालिकाले सूचना जारी गर्दै असोज ८ र ९ गते दुई दिन नगर क्षेत्रका सामुदायिक, संस्थागत (निजी) तथा धार्मिक विद्यालयमा पठनपाठन बन्द रहने जानकारी दिएका हुन् ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली तथा सम्भावित चक्रवातको प्रभावले मधेश प्रदेशलगायतका क्षेत्रमा भारी वर्षा, हावाहुरी, बाढी तथा डुबानको जोखिम रहेको भन्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
प्रतिकूल मौसमका कारण विद्यार्थी, शिक्षक तथा कर्मचारीको आवतजावतमा कठिनाइ हुन सक्ने र सुरक्षा जोखिम बढ्न सक्ने भएकाले विद्यालय बन्द गरिएको सूचनामा उल्लेख छ।
नगरपालिकाले सम्बन्धित सबै विद्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्न तथा विद्यार्थी, शिक्षक र अभिभावकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।






