काठमाडौं, असोज २२ गते ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूह नयाँ पार्टी खोल्ने मनस्थितिमा पुगेको छ । कांग्रेस संस्थापन १५औं महाधिवेशनमार्फत बिहीबार नयाँ नेतृत्व चयन गर्न लागेपछि देउवा समूहले अब नयाँ पार्टी खोल्ने मनस्थिति बनाएको हो ।
कांग्रेस देउवा समूहका नेता विमलेन्द्र निधिले बिहीबार जनकपुरमा ‘कांग्रेसमा अब नयाँ घर बनाउने बेला आयो’ भनेर प्रतिक्रिया दिएका छन् । निधिको यो अभिव्यक्तिले अब छिट्टै देउवा समूहले नयाँ पार्टी खोल्ने अनुमान गरिएको छ ।
देउवा समूहले छुट्टै महाधिवेशन गर्न भन्दै वडादेखि पालिका तहको अधिवेशन गरिरहेको छ । तर उनीहरूले सोचेअनुसारको कार्यकर्ता अधिवेशनमा सहभागी बनेका छैनन् ।
कांग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिले पाएकाले अधिकांश कांग्रेस कार्यकर्तालाई यसलाई नै मूलधार मानेर महाधिवेशनमा जुटेका छन् । तर देउवा समूह अहिले पनि सर्वोच्च अदालतले आफूलाई कांग्रेसको आधिकारिकता दिने आशमा छ ।
तर कांग्रेस सभापति थापाले बुधबार महाधिवेशनको बन्द सत्रमा अब अदालतले कांग्रेसको आधिकारिकताबारे कुनै आदेश नदिने बताएपछि देउवा समूह नयाँ दल गठनको गृहकार्यमा जुट्ने बताइएको छ । न्युज कारखाना






