काठमाडौं, मंसिर १० गते ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्रयाक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
गए राति करिब ९ बजे लु.२ च. ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको लु.२ त. २४१७ नम्बरको ट्रयाक्टर ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको उपचारका क्रममा राति १०ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये आठ जनालाई थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ । अन्य घाइतेमध्ये केही उपचारपछि डिस्चार्ज भएका छन् भने केहीको स्थानीय अस्पतालमा उपचार गरिएको छ ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








