सिरहा : कमला नदीमा पुल निर्माण चाँडै

सिरहा, असार १२ गते ।

सिरहा र धनुषालाई जोड्ने कमला नदीमाथि पुल निर्माणका लागि मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा एक करोड विनियोजन गरेको छ ।

बर्खायाममा कमला नदीमा पुल नहुँदा आवत–जावतमा कठिनाई व्यहोर्दै आएका थिए । यहाँ १४ वर्षदेखि पुल निर्माणाधिन थियो । सर्वसाधारणले जोखिमपूर्ण तरिकाले नदी पार गर्नुपर्ने बाध्यता थियो । मुख्यमन्त्री सतिशकुमार सिंहको पहलमा यो योजना अघि बढाइएको हो ।

उनले भने, “कमला नदीमा पुल निर्माण गर्नु धनुषा–सिरहा मात्रै होइन, सिङ्गो मधेस प्रदेशको आवश्यकता हो । हामी यो कार्य दृढताका साथ अगाडि बढाउँछौँ ।”

एक करोडले मात्र पुल निर्माण सम्भव नभएको उनले बताए । मुख्यमन्त्री सिंहका अनुसार आवश्यकताअनुसार चरणबद्ध रूपमा थप बजेटको व्यवस्था गरिनेछ ।

सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजीत यादवले भने, “थोरै बजेट राखेर भएपनि प्रदेश सरकारले कमला पुललाई समेटेको छ । पुल बनाउन यो रकम पर्याप्त छैन । सङ्घीय सरकारले पनि यसका लागि सहयोग गरोस् ।”

निर्माणाधिन अवस्थामै भासिएको यो पुल विगत लामो समयदेखि जीर्ण छ । वर्षा याममा नदी पार गर्न बाँसको अस्थायी संरचना बनाइएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको