काठमाडौं, असोज ५ गते ।
त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा राहदानी विभागको सेवा समेत प्रभावित भएको छ ।
विभागले जारी गरेको सूचनामा उल्लेख भएअनुसार आगलागीका कारण विद्युत् र इन्टरनेट सेवामा अवरोध सिर्जना भएको थियो । त्यसका कारण राजदानीको छपाइ प्रक्रियामा समेत प्रत्यक्ष असर परेको थियो ।
राहदानी विभाग अगाडिको सडकमा आज दिउँसो बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो । आगोमा जलेर बस चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ ।
विभागले राहदानी वितरणमा कठिनाइ भएको अवस्थालाई ध्यान दिई राहदानी आवेदन दिइसकेका सेवाग्राही सबैलाई धैर्य गरी सेवा लिइदिन अनुरोध समेत गरेको छ ।
यस अवधिमा राहदानी आवेदन संकलन प्रक्रिया पूर्ववत रुपमै सुचारु रहने र समस्या समाधानसँगै राहदानी वितरण सेवा समेत नियमित हुने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।






