काठमाडौं, असोज ७ गते ।
साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) तीन दिनपछि घटेर बन्द भएको हो।
बुधबार नेप्से परिसूचक ३६.२५ अंक घटेर २६१८.०३ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ६.३३ अंक, फ्लोट इण्डेक्स २.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१९ अंक घटेको छ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जीवन बीमा उपसमूहको परिसूचक २.०४ प्रतिशत घटको छ। बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
बुधबार कारोबार रकम पनि घटेको छ। मंगलबार सात अर्ब पाँच करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३५२ स्टकको ५७ हजार ९४७ पटकको कारोबारमा ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आज शिवम् सिमेन्ट्स कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। रिलायन्स स्पिनिङ मिल्सको २१ करोड रुपैयाँभन्दा बढी र हिमालयन डिष्टिलरीको कारोबार रकम साढे २० करोड रुपैयाँ नाघेको छ।
धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य १७५ रुपैयाँ बढेर एक हजार ३४१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने साढे ५ प्रतिशतभन्दा कम छ । न्युज कारखाना






