काठमाडौं, असोज ७ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा। राम लामाले सवारी ऐन उल्लंघनको विषय हेर्न छुट्टै ट्राफिक कोर्ट गठनको माग राखेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो माग राखेका हुन् । लोकतन्त्रमा सबै नागरिकले न्याय पाउनुपर्ने उनले बताए ।
‘ट्राफिक प्रहरीले पनि सडकमा कुटिने अवस्था अन्त्य हुनुपर्छ भने चालकले पनि न्याय पाउनुपर्छ,’ उनले भने, ‘सन्दर्भ, भखैरै मात्र पनि हामीले देखेका छौं । चालकले मैले गल्ति गरेको छैन, म माथि न्याय हुनुपर्छ भनेर आत्मदाह गरेको घटना हामीले देखेका छौं ।’
त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि चालकले आफू भित्रै रहेर बसमा आगो लगाएको घटना स्मरण गर्दै सांसद लामाले यस्तो बताएका हुन् ।
‘यस्तो घटनाहरू नदोहोरिनको निम्ति सरकारसँग माग राख्न चाहन्छु, तत्कालै हामीले एउटा छुट्टै ट्राफिक कोर्टको व्यवस्था गरेर त्यस्ता घटनाहरूको सत्य, तथ्य, निश्पक्ष र न्यायपूर्ण ढंगले सुनुवाइ गर्नुपर्छ । यस निम्ति ट्राफिक कोर्टको स्थापना गर्न माग गर्दछु ।’






