जनकपुरधाम, असोज ९ गते ।
गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियानविरुद्ध जनकपुरमा प्रदर्शन भएको छ । गुठीकुट्टी घरजग्गा व्यवस्थापन संघर्ष समितिले जनकपुरधामको विभिन्न भागमा प्रदर्शन गरेको हो ।
संघर्ष समितिले गुठी संस्थान, जनकपुरधाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएको छ ।
विगतमा सरकारलाई पटकपटक ज्ञापन पत्र बुझाएको तर, सरकार आफूहरुको माग सम्बोधन नगरेकोले आन्दोलनमा उत्रिएको संघर्ष समितिका अध्यष सन्तोष साहले बताए ।
उनले जनकपुरधामको गुठी र कुट्टीमा ३० देखि ३५ हजार मानिस घर बनाएर पुस्तौदेखि बसिरहेको बताए । तर सरकारले आफ्नो तथ्यांक सही रुपमा तथ्यांक तयार नगरी अतिक्रमण कारी भन्दै तोडफोडमा उत्रेकाले आफूहरु विरोधमा उत्रेको बताए ।
गुठीको जग्गामा बसोबास गरिरहेका व्यक्तिहरुको जग्गाको एकिन गरी सरकारको मुआब्जा लिएर रैथानी नम्बरीमा परिणत गर्न आफूहरुको माग रहेको बताए ।
सरकारले माग सम्बोधन नगरे र अतिक्रमित जग्गा खाली गराउने प्रयास गरे ठूलो आन्दोलन गर्ने अध्यक्ष साहले चेतावनी समेत दिएका छन् ।






