एफबीआई ह्याकले ‘रसिया होक्स’ को पर्दाफास गर्न सक्छ : ट्रम्प

काठमाडौं, मंसिर ६ गते ।

अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) को एक अत्यन्तै महत्त्वपूर्ण डेटाबेस ह्याक भएको समाचार बाहिरिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त साइबर आक्रमणको एउटा सकारात्मक पाटो (सिल्वर लाइनिंग) पनि हुन सक्ने टिप्पणी गरेका छन्।

शनिबार बिहान ‘फक्स न्युज’ लाई दिएको अन्तर्वार्तामा ट्रम्पले उक्त डेटाबेस चुहावटबाट आफूले लामो समयदेखि भन्दै आएको ‘रसिया, रसिया, रसिया होक्स’ अर्थात् सन् २०१६ को अमेरिकी चुनावमा रुसी हस्तक्षेपसम्बन्धी छानबिनका थप भित्री विवरणहरू बाहिर आउन सक्ने दाबी गरेका हुन्।

सरकारी डिजिटल पूर्वाधारको सुरक्षा संवेदनशीलतालाई लिएर आम नागरिकमा गहिरो चिन्ता बढिरहेका बेला राष्ट्रपति ट्रम्प भने एफबीआईप्रतिको आफ्ना पुराना गुनासा र राजनीतिक प्रतिशोधका विषयहरूमै केन्द्रित देखिएका छन्।

के हो एफबीआई डेटाबेस ह्याक प्रकरण र सरकारी निकायहरूमाथिको साइबर प्रहार?

शुक्रबार राति अमेरिकी समाचार संस्थाहरू सीएनएन र एनबीसीले एफबीआईले आफ्नो ‘नेशनल क्राइम इन्फर्मेसन सेन्टर’ ९एनसीआईसी० मा भएको संदिग्ध साइबर हमलाबारे अनुसन्धान गरिरहेको समाचार सार्वजनिक गरेका थिए। यो प्रणालीले स्थानीय तथा राष्ट्रिय स्तरका कानुन कार्यान्वयन गर्ने निकायहरूबिच अपराधी र सुरक्षासम्बन्धी सूचना आदानप्रदान गर्न मुख्य सेतुको काम गर्दछ।

उल्लेखनीय के छ भने, गत एक साताभित्रै अमेरिकाका अन्य प्रमुख संघीय निकायहरू संघीय उड्डयन प्रशासन (एफएए), राष्ट्रिय सुरक्षा एजेन्सी ९एनएसए० र अमेरिकी कृषि विभाग (यूएसडीए) मा समेत साइबर आक्रमण तथा प्राविधिक अवरोध देखिएका थिए। एफबीआईको डेटाबेस चुहावट यही शृङ्खलाको पछिल्लो कडीका रूपमा देखा परेको छ।

‘म हर कुरालाई सकारात्मक रूपले हेर्न रुचाउँछु’

शनिबार बिहान फक्स न्युजको अन्तर्वार्तामा एफबीआई डेटाबेस ह्याकबारे सोधिएको प्रश्नमा ट्रम्पले सुरुमा घटनाप्रति असन्तुष्टि जनाए पनि लगत्तै त्यसलाई आफ्ना पुराना राजनीतिक मुद्दाहरूसँग जोडेका थिए।

उनले भने,’खैर, हामीले भर्खरै यसबारे सुन्यौँ र म यो भन्छु कि यो राम्रो कुरा होइन, मलाई यो मन परेको छैन। तर सायद हामीले यस्ता कुराहरू थाहा पाउनेछौँ जुन अन्यथा कहिल्यै थाहा पाउने थिएनौँ। तपाईंसँग ‘रसिया, रसिया, रसिया’ को झुटो प्रपञ्च थियो, तपाईंसँग यी सबै अन्य प्रपञ्चहरू थिए।’

यस क्रममा ट्रम्पले विशेष गरी युक्रेनसम्बन्धी विवाद र सन् २०२० को राष्ट्रपतीय निर्वाचनको प्रसङ्ग समेत कोट्याउँदै थपे, ‘सायद हामीले तिनका बारेमा थाहा पाउनेछौँ। सायद हामीले भोटर फ्रड त्यहाँ भएका सबै मतदाता धाँधलीका बारेमा थाहा पाउनेछौँ। म सधैँ चीजहरूलाई सकारात्मक मोड दिन रुचाउँछु। ‘रसिया, रसिया, रसिया’ बारे जान्न पाउनु कति राम्रो हुनेछ, होइन र?’

पुटिनसँगको शिखर बैठकलगत्तैको टिप्पणी र अनुत्तरित प्रश्नहरू

राष्ट्रपति ट्रम्पको यो अभिव्यक्ति एसिया भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग ऐतिहासिक शिखर बैठक सम्पन्न गरेको केही दिनपछि नै आएको हो। उक्त सम्मेलनपछि ट्रम्पले पुटिनलाई आफ्नो ‘मित्र’ का रूपमा वर्णन गरेका थिए।

हालसम्म एफबीआईको उक्त संवेदनशील डेटाबेस कसले ह्याक गर्‍यो र ह्याकरहरूले प्राप्त गरेको अति गोप्य सूचनाको के प्रयोग गर्नेछन् भन्ने विषय स्पष्ट भइसकेको छैन। सरकारी सुरक्षा संयन्त्रमा लगातार भइरहेका साइबर आक्रमणहरूको स्रोत पहिचान गर्नु र संवेदनशील डेटाको दुरुपयोग रोक्नु अमेरिकी गुप्तचर तथा सुरक्षा निकायहरूका लागि मुख्य चुनौती बनेको छ। एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको