सुवास दर्नाल
सोलुखुम्बु, मंसिर ६ गते ।
हिउँदको चिसो बढ्न थालेसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्र छोड्ने पर्यटकको संख्या बढेको छ। पछिल्लो एक सातामा खुम्बु क्षेत्रमा भित्रिनेभन्दा बाहिरिने पर्यटकको संख्या दोब्बरभन्दा बढी देखिएको छ।
जिल्ला प्रहरी कार्यालयको साप्ताहिक तथ्याङ्कअनुसार पछिल्लो सात दिनमा हवाई मार्गबाट एक हजार १८० पर्यटक खुम्बु क्षेत्रबाट बाहिरिएका छन् भने ५२९ जना भित्रिएका छन्। भित्रिनेभन्दा बाहिरिने पर्यटकको संख्या ६५१ ले बढी छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङका अनुसार बाहिरिने पर्यटकमध्ये ८७७ विदेशी र ३०३ नेपाली छन्। सोही अवधिमा ३७४ विदेशी र १५५ नेपाली पर्यटक खुम्बु क्षेत्रमा भित्रिएका छन्।
खुम्बु क्षेत्रबाट बाहिरिने विदेशी पर्यटकमध्ये ३२७ महिला र ५५० पुरुष छन्। नेपाली पर्यटकमध्ये ४६ महिला र २५७ पुरुष बाहिरिएका छन्। यसैगरी, भित्रिने विदेशी पर्यटकमध्ये १०२ महिला र २७२ पुरुष छन् भने नेपालीमध्ये ५४ महिला र १०१ पुरुष छन्।
चिसो बढेसँगै पर्यटक फर्किने क्रम बढेको स्थानीय दाली शेर्पाले बताए।
‘नाम्चे क्षेत्रमा नै रातको समयमा तापक्रम माइनसमा जान थालेको छ। राति र बिहान तापक्रम माइनसमा पुग्न थालेपछि पानी जम्न थालेको छ,’ उनले भने।
ीबहmष् दबलप
सगरमाथा क्षेत्रको मुख्य पर्यटकीय सिजनमध्ये शरद् ऋतुमा असोज र कात्तिकमा पर्यटकको चाप बढी हुन्छ। मनसुन सकिएपछि मौसम खुल्ने, हिमाल स्पष्ट देखिने र पदयात्राका लागि अनुकूल वातावरण बन्ने भएकाले यस समयमा पर्यटकको आगमन बढ्छ। तर कात्तिकको उत्तरार्धसँगै तापक्रम घट्ने, राति अत्यधिक चिसो हुने र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना बढ्ने भएकाले पर्यटक फर्कन थाल्छन्।
सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपिसिसी०का अध्यक्ष तथा पर्यटन व्यवसायी लामाकाजी शेर्पाले उच्च हिमाली क्षेत्रमा चिसो बढ्दा पर्यटकको बसाइ अवधि र गतिविधिमा असर पर्ने बताए। सिजनको अन्तिमतिर मौसम, तापक्रम, हिमपातको सम्भावना र पदयात्राको अवस्थालाई ध्यानमा राखेर पर्यटकले यात्रा व्यवस्थापन गर्ने भएकाले फर्किने क्रम बढ्ने उनको भनाइ छ।
द्यगचवभच
खुम्बु क्षेत्रको पर्यटन गतिविधि मौसमसँग प्रत्यक्ष जोडिएको छ। शरद् सिजनमा पर्यटकको चाप बढी हुने भए पनि जाडो सुरु भएपछि उच्च हिमाली क्षेत्रको यात्रा कठिन हुँदै जाने र पर्यटकको संख्या घट्ने पर्यटन व्यवसायी स्पिडकाजी शेर्पाले बताए।
लुक्लास्थित तारा एयरका स्टेसन इन्चार्ज अमृत मगरका अनुसार पर्यटकको आवागमनमा मौसमी अवस्था र पर्यटन सिजनको प्रभाव देखिन्छ। पर्यटकको चाप बढी हुँदा हवाई आवागमन पनि बढ्ने र सिजन कमजोर हुँदै जाँदा पर्यटक बाहिरिने क्रम बढ्ने गरेको उनले बताए।
‘मौसमको अवस्था हवाई उडानका लागि महत्वपूर्ण हुने भएकाले लुक्ला विमानस्थलबाट हुने उडान गतिविधि पनि मौसमअनुसार प्रभावित हुन्छ,’ उनले भने।
चिसो बढ्न थालेपछि पर्यटकको आवागमनसँगै स्थानीय पर्यटन व्यवसायमा पनि परिवर्तन देखिन थालेको लुक्लाका स्थानीय तोयाकुमार श्रेष्ठले बताए। मुख्य पर्यटकीय सिजन सकिन लाग्दा होटल, पसल, पदयात्रा सेवा तथा अन्य पर्यटन व्यवसायमा गतिविधि कम हुँदै जाने उनको भनाइ छ। उच्च क्षेत्रमा चिसो बढेसँगै पर्यटकले यात्रा छोट्याउने वा तल्लो क्षेत्रतर्फ फर्कने गरेका छन्।
प्रहरीको पछिल्लो साप्ताहिक विवरणअनुसार उक्त अवधिमा ६९ वटा जहाज र २८ वटा हेलिकप्टर उडान भएका छन्। खुम्बु क्षेत्रमा पर्यटकको आवागमनका लागि हवाई सेवा महत्वपूर्ण माध्यम हो। मौसम, पर्यटकको चाप र पर्यटन सिजनले उडान गतिविधिमा पनि प्रभाव पार्ने गरेको छ।
सगरमाथा क्षेत्र नेपालको प्रमुख हिमाली पर्यटन गन्तव्य हो। सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा आधार शिविर, नाम्चे बजार, खुम्जुङ, गोक्यो, थामे र लुक्लालगायत क्षेत्र पदयात्रा, हिमाल अवलोकन तथा पर्वतारोहणका लागि विदेशी पर्यटकको आकर्षणका केन्द्र हुन्।
पर्यटनविद् आङछिरिङ शेर्पाका अनुसार यहाँ वसन्त र शरद् गरी दुई मुख्य पर्यटकीय सिजन हुन्छन्। वसन्त सिजन फागुनदेखि जेठसम्म र शरद् सिजन भदौको अन्त्यदेखि मंसिरसम्म मानिन्छ। शरद् सिजनमा असोज र कात्तिकमा पर्यटकको चाप बढी हुन्छ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले सिजन सकिँदै जाँदा उच्च हिमाली क्षेत्रको तापक्रम घट्ने र मौसममा परिवर्तन आउने भएकाले पर्यटन गतिविधि प्रभावित हुने बताए।
उच्च हिमाली क्षेत्रमा चिसो बढ्दै जाँदा आगामी दिनमा मौसम प्रतिकूल हुन सक्ने र त्यसले पर्यटकको आवागमनमा थप प्रभाव पार्न सक्ने पर्यटन व्यवसायी तेम्बाछिरि शेर्पाको अनुमान छ। रासस








