पब्लिक सन्देश
जनकपुरधाम, जेठ १२ गते ।
महोत्तरीको बर्दिबास–३ कालापानीवासी सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । सरकारले बस्तीमा डोजर चलाउने तयारी गरेपछि कालापानी क्षेत्रमा बीपी राजगमार्ग अवरुद्ध गरेर स्थानीयले प्रदर्शन गरेका हुन् । उनीहरुले गएराति वन कार्यालयको एउटा गाडीमा आगोसमेत लगाएका छन् ।
सोमबार दिउँसैदेखि नै कालापानी क्षेत्रमा स्थानीयको विरोध प्रदर्शन गर्दै आएका प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीले डिभिजन वन कार्यालय महोत्तरीको एउटा गाडीमा आगजनीसमेत गरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी पञ्चलाल गोलेले जानकारी दिए ।
‘वन डिभिजनको टोलीले अतिक्रमित क्षेत्रमा गएर घर खाली गर्न सूचना जारी गरेपछि आक्रोसित भएका स्थानीयले सोमबार राति वनको एउटा गाडीमा आगो लगाएका छन्,’ गोलेले भने, ‘अहिले पनि त्यो क्षेत्रमा यातायात अवरुद्ध छ । सहमतीको लागि वार्ताको प्रयास हुँदैछ ।’
उनले वार्ताको लागि महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, एसपी श्यामकुमार सारु मगर, इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमिल्सिनासहितको टोली अहिले पनि घटनास्थलमै रहेको बताए । नेपालखबर






