८ दिनसम्म उद्धार नहुँदा सम्पर्कविहीनका परिवार बेचैन

शैलेन्द्र महतो 
जनकपुरधाम, भदौ १८ गते ।

महोत्तरी पिपरा गाउँपालिका–३ का ३० वर्षीय विकाशकुमार यादव १० भदौमा आएको भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् । घटना भएको ८ दिन बितिसक्दा पनि उद्धार नहुँदा उनको परिवार बेचैन भएको छ ।

तर, आफन्तजन विकास फर्किनेमा आशावादी छन् । उनी त्रिशूली–३ ‘ए’को सुरुङभित्र थुनिएको हुनसक्ने परिवारको अनुमान छ ।

सिभिल इन्जिनियर विकास त्रिशूली–३ ए जलविद्युत् आयोजनामा सुपरभाइजरको रूपमा कार्यरत थिए । उनका जेठान सुनिलकुमार यादवका अनुसार बाढीपछि सम्पर्कविहीन बनेका विकासको बिहान ११ बजेतिर फोन लोकेसन ट्र्याक गर्दा सुरुङ नजिकै देखिएको थियो ।

उनको समूहमा भएका ३५ जनामध्ये कोही पनि सम्पर्कमा छैनन् । उनीहरू सुरुङभित्रै उद्धार कुरिरहेको हुनसक्ने परिवारको अनुमान छ ।

‘हामीलाई आशा छ । त्यही सुरुङभित्र हुनुहुन्छ । फोनको स्थान खोजी गर्दा र नजिकका मान्छेसँग स्थानबारे बुझ्दा सुरुङमै रहेको हुनसक्ने थाहा पायौँ,’ सुनिलले भने । तर उद्धारमा सरकारले ढिलाइ गर्दा परिवारमा निराशा बढ्दै गएको छ । सरकारको हठका कारण लामो समयसम्म उद्धार हुन नसकेको भन्दै जेठान सुनिलले आक्रोश पोखे ।

‘सरकारको हठ र जिद्दीपनले आजसम्म उद्धार हुन सकेन । चाँडो सुरुङबाट उद्धार गर्नुपर्ने थियो । यो सरकार पनि अन्य सरकारभन्दा फरक रहन सकेन,’ उनले भने ।

सुनिलको बुझाइमा तत्कालै छिमेकी देश तथा आयोजना कम्पनीहरूले उद्धार गर्न खोज्दा सरकारले स्वीकृति नदिएका कारण उद्धारमा ढिलाइ भइरहेको छ ।

विकासको परिवार जस्तै प्रतीक्षामा छन्, महोत्तरीकै मटिहानी नगरपालिका–७ का ४० वर्षीय गंगाराम मण्डलका आफन्त । रिचा ट्र्याकस प्रालिमा भान्सेको रूपमा काम गर्दै आएका गंगाराम कैलाश मानसरोवर यात्रा गर्नेहरूसँगै गएका थिए । बिहान परिवारसँग कुराकानी गरेका उनी बाढीपछि सम्पर्कविहीन भए ।

सात जनाको परिवारको जिम्मेवारी उनकै गंगारामकै काँधमा थियो । मुख्य सहारा नै हराएपछि अब परिवार कसरी चल्ने, छोराछोरीको हेरचाह र आफ्नो बुढेसकालको सहारा गुम्ने चिन्ताले बुबा अशेश्वर मण्डलको मन भारी भएको छ ।

‘छोराकै बलमा परिवार चलेको । अब कसरी चल्छ ? कोमाथि आश गर्ने ?,’ उनले दुस्खेसो गरे ।

गंगाराम सम्पर्कविहीन बनेदेखि श्रीमती गुञ्जादेवीको रुँदारुँदै आँखाका आँसु सुक्न थालेका छन् । आमा मिथिलादेवीको अवस्था पनि उस्तै छ । चार सन्तानले बुबा खोजिदिन सरकारसँग विन्तीभाउ गरिरहेका छन् ।

‘सरकारले मेरो बुबालाई खोजेर ल्याइदेओस् । हाम्रो परिवारको एक्लो सहारा बुबा नै हुनुहुन्थ्यो,’ छोरी सलोनी मण्डलले गुहार लगाइन् ।

जलेश्वर नगरपालिका–९ का २२ वर्षीय हसन अन्सारीको परिवार पनि उस्तै पीडामा छ । रोजीरोटीका लागि हसन १० दिनअघि मात्रै ग्यारेज मेकानिकको रूपमा काम गर्न रसुवा गएका थिए । तर बाढीपछि उनी सम्पर्कविहीन छन् । भर्खरै घरको जिम्मेवारी सम्हाल्न थालेका हसन सम्पर्कविहीन भएको ८ दिन बित्दा परिवारमा निराशा बढ्दो छ ।

छोराको प्रतीक्षामा आमा मुलिमा खातुनको बेचैनी बढ्दै गएको छ । दिदी एरम खातुन भाइ चाँडै घर आओस् भन्ने कामना गरिरहेकी छिन् । ‘धेरै दिन भइसक्यो । कुनै अत्तोपत्तो छैन,’ उनले गुहार्दै भनिन् ‘भाइ जहाँ भए पनि सरकारले चाँडै खोजबिन गरिदेओस्, भाइ चाँडै घर आओस् ।’

विकास, गंगाराम र हसनका परिवारभन्दा भिन्न अवस्था महोत्तरीका अन्य ६ परिवारको पनि छैन । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्यांकअनुसार रसुवाको बाढीमा महोत्तरीका १६ जना सम्पर्कविहीन भएका थिए । जसमध्ये ७ जना सम्पर्कमा आइसकेका छन् भने ९ जना अझै बेपत्ता छन् ।

गौशाला नगरपालिका–८ ढल्केबरका ३० वर्षीय शीतलबहादुर लुङ्गेली, गौशाला नगरपालिका–१ का विजय थापा मगर र बर्दिबास नगरपालिका–९ की २२ वर्षीया जोया राना मगर पनि सम्पर्कविहीन छन् ।

यस्तै, जलेश्वर नगरपालिका–१० का ३३ वर्षीय शशिलाल साह, लोहरपट्टी नगरपालिका–८ का ४२ वर्षीय सन्तोषकुमार ठाकुर, बर्दिबास नगरपालिका–३ का २८ वर्षीय सौभाग्य विष्टसँग बाढीपछि सम्पर्क हुन सकेको छैन ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालका अनुसार उक्त तथ्यांक परिवारजन तथा आफन्तजनले निवेदन तथा फोनमार्फत प्रहरीलाई दिएको जानकारीका आधारमा तयार पारिएको हो ।

सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा अवस्थाबारे परिवारजन प्रतीक्षारत छन् । सक्दो चाँडो सम्पर्कविहीनको सास वा लास दिन सरकारसँग उनीहरूको आग्रह छ ।

महोत्तरीका ७ जना सम्पर्कमा

रसुवा बाढीमा सम्पर्कविहीन भएका महोत्तरीका ७ जना भने सम्पर्कमा आइसकेका छन् । प्रवक्ता ढकालले उपलब्ध गराएको तथ्यांकमा जलेश्वर नगरपालिका–९ का २२ वर्षीय राकेशकुमार यादव, भंगहा नगरपालिका–९ हरिनमरिका ३५ वर्षीय श्रीकेश यादव, लोहारपट्टी नगरपालिका–७ का २५ वर्षीय युवराज पाण्डे पारिवारिक सम्पर्कमा आइसकेको उल्लेख छ ।

यस्तै, औरही नगरपालिका–९ का २२ वर्षीय सचिनकुमार यादव, गौशाला नगरपालिका–६ फुलकाहाका २६ वर्षीय आदित्यनारायण यादव, पिपरा गाउँपालिका–२ का २७ वर्षीय विपिनकुमार मण्डल र बर्दिबास नगरपालिका–१ का विकास भारती सम्पर्कमा आइसकेको एसएसपी ढकालले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको